सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट


खबरस्टोरी संवाददाता
१६ कार्तिक २०७८, मंगलवार
सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँटकाठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य आवेदकमध्ये ६७ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरका सात लाख ३० हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । कूल शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई, दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई र बाँकी ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधारण छुट्याइएको थियो । 

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका र माईजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरेको छ । जलविद्युत् आयोजनाले गत असोज १ गतेदेखि व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको कम्पनीले जनाएको छ ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।