यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य रहेको सेनाले जनाएको छ ।
सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् । चैत्र २२ देखि शुरु भएको यो अभियान जेष्ठ ५ सम्म सञ्चालन छ । यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको थियो ।
कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ । “हिमालहरु सफागर्ने र यसै कामको लागि समान विचारधारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय र साहसिक रहेको कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले बताए ।
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १० हजार ५८६ किलो फोहोर संकलन भएको थियो । सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा छ वटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर निकालिएको थियो । हिमालबाट संकलन हुने यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।