सेञ्चुरी बैंकको खुद नाफा १८३ प्रतिशतले बृद्धि


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
सेञ्चुरी बैंकको खुद नाफा १८३ प्रतिशतले बृद्धि
काठमाडौं।  सेञ्चुरी कमर्सियल बैंकको सार्वजनिक गरिएको तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढेको छ। गत वर्ष ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस बर्ष १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुर्याउन सफल भएको हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ११.६६ प्रतिशत र २१२.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्व ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष बढेर २ अर्व १४ करोड १६ लाख रुपैयाँ पुर्याएको छ।  बैंकको सञ्चालन नाफा ४७ करोड २९ लाख रुपैयाँबाट बढेर १ अर्व ४७ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ।

चैत मसान्तसम्ममा बैंकको निक्षेप ३.१८ प्रतिशत घटेको छ भने कर्जा ११.६६ प्रतिशत बढेको छ।  त्यसैगरी, बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेको छ भने जगेडा कोष २३.०१ प्रतिशत बढेको छ।

त्यस्तै खुद नाफासंगै बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर १४ रुपैयाँ १७ पैसा आम्दानीमा पुगेको छ। बैंकको नेटवर्थ प्रतिशेयर १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।