रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुंगोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघिप्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिदैं सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए । न्युनतम योग्यता, भाषागत क्षमता, न्युनतम पारिश्रमिक लगायत सेवा सुविधा,कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले नेतृत्व गर्नेछन् ।
अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीहरुलाई ल्याउन इच्छुक रहेको बताएका थिए । सिसेल्स अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन् ।
द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवा पनि नेपालीहरुलाई रोजगारी दिन सकिने बताएका थिए । भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुषाल रहेका थिए भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो । नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।