२३९ वटा संस्था मर्जरमा सामेल, १७७ वटा संस्थाको इजाजत खारेज


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
२३९ वटा संस्था मर्जरमा सामेल, १७७ वटा संस्थाको इजाजत खारेज
काठमाडौं।  हालसम्म दुई सय ३९ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ फागुन मसान्तसम्म कुुल दुई सय ३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्राप्ति प्रक्रियामा सामेल भएका हुन् । सो मध्ये एक सय ७७ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वित्तीय पहुंच अन्तर्गत भने कुल सात सय ५३ स्थानीय तहमध्ये २०७८ फागुनसम्म सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ फागुनसम्म सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ फागुन मसान्तमा एक सय २८ वटा रहेको छ । सो मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ रहेकोमा २०७८ फागुन मसान्तमा ११ हजार तीन सय ४९ राष्ट्र बैंकले जानकारी दिएको छ । 

२०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको उपस्थिति भएका स्थानीय तह


बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या



(स्रोत : नेपाल राष्ट्र बैंक)