देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेको जजिरा एयरको पहिलो आगमन


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेको जजिरा एयरको पहिलो आगमन
रुपन्देही । देशको दोस्रो भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल आजबाट उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज विमानस्थलमा अवतरण गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय विमान जजिराले एयरवेजले पहिलोपटक ७ः१५ मा अवतरण गरेको हो।

विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो। विमानमा ६८ यात्रु सवार थिए। हवाइ इतिहासमा ७४ वर्षपछि देशले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि सञ्चालनमा आइसकेको छ। यद्यपि विमानस्थलमा आज बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको हो।सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो।