उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त
काठमाडौं– नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताउँदै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन्। वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन्।