विदेशी मुद्राको सञ्चितीमा निरन्तर गिरावट


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
विदेशी मुद्राको सञ्चितीमा निरन्तर गिरावट
काठमाडौं।   विदेशी मुद्राको सञ्चितीमा निरन्तर गिरावट आएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी आठ महिनाको प्रतिवेदन अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव तीन प्रतिशतले घटेर २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव पाँच प्रतिशतले कमी आई नौं अर्ब ५८ करोड कायम भएको छ । प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब पाँच करोड कायम भएको छ । 

नेपाल राष्ट्र बैंक बाहेक संंस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा शुन्य दशमलव नौं प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव दुई प्रतिशत रहेको छ । 

पछिल्लो आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना चार दिनको वस्तु आयात र छ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।