विद्युतीय सवारीमा चौधरी ग्रुपको प्रवेश


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
विद्युतीय सवारीमा चौधरी ग्रुपको प्रवेश
काठमाडौँ । सीजी मोटर्सले विद्युतीय गाडी निटा ब्रान्ड नेपालमा सार्वजनिक गरेको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले पहिलो मोडलको रुपमा निटा भी सार्वजनिक गरेको हो। 

लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको चौधरी ग्रुपले जनाएको छ।भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजार नेपालमा ल्याएको जनाएको छ। निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ।

चिनियाँ ब्रान्ड निटा चाइना, थाइल्यान्डपछि नेपालमा सार्वजनिक गरिएको ग्रुपले जनाएको छ ।



निटाका यस्ता छन् विशेषताहरु 

निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिनेछ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ।

निटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ। निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ। गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली छ। 

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट÷९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। घरको एसी चार्जरबाट फुल चार्ज हुन्छ ८ घण्टा र डीसी फास्ट चार्जरबाट २० मिनेटमै ८० प्रतिशत चार्ज हुनसक्छ। 

गाडीको लम्बाइ ४०७०, चौडाइ १६९० र उचाइ १५४० एमएम छ। ह्विलबेस २४२० रहदाँ गाडीको तौल ११५१ केजी रहेको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ। 


सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ

नेपाली बजारमा  निटा भी विभिन्न ५ कलरमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाट चार्जर र एक वर्षको बीमाको बीमा निःशुल्क उपलब्ध गराउने भएको छ।