नववर्ष २०७९ को पूर्वसन्ध्यामा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वःस्फूतरूपमा मर्जरमा गएर भए पनि चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पूँजी बृद्धिको योजना मागेका छौं । पूँजी बृद्धि गर्नुपर्छ । पूँजी बृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यकसहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पूँजी बृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ ।’
बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दे अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिए ।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्दै समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिए ।
कार्यक्रममा बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक सङ्का अध्यक्ष निर्मल काजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा समितिका निर्देशकहरूकमलप्रसाद रेग्मी तथा दिनेश कुमार लाल, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र बीमा समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।