चीनमा भ्रष्टाचार आरोपमा ११ जनालाई मृत्युदण्ड


खबरस्टोरी संवाददाता
१६ माघ २०८२, बिहीबार
चीनमा भ्रष्टाचार आरोपमा ११ जनालाई मृत्युदण्ड

काठमाडौं । चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित म्यान्मास्थित आपराधिक गिरोहसँग सम्बन्धित ११ जनालाई मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

बिहीबार मृत्युदण्ड दिइएका ११ जनालाई गत सेप्टेम्बरमा पूर्वी चिनियाँ सहर वेनझोउको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सो सजायलाई अदालतले कार्यान्वयनमा समेत ल्याएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अर्बौं डलर बराबरको अवैध कारोबारसँग जोडिएको यो ठगी उद्योग म्यान्माका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै आएको बताइएको छ ।

ती क्षेत्रमा सञ्चालन भइरहेका धोखाधडी केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनियाँ नागरिक पनि रहेका छन् । तीमध्ये धेरैले आफूहरूलाई जबर्जस्ती तस्करी गरेर त्यहाँ पु¥याइएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन् ।

बेइजिङले पछिल्ला वर्षहरूमा यस्ता ठगी केन्द्रहरूविरुद्ध कारबाही तीव्र पार्दै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँग सहकार्य बढाएको छ । यस अभियानअन्तर्गत हजारौँ मानिसलाई चीन फिर्ता पठाइएको छ ।

मृत्युदण्ड दिइएका व्यक्तिहरूमाथि जानाजानी हत्या, गम्भीर चोट पु¥याउने, गैरकानूनी हिरासत, ठगी तथा अवैध क्यासिनो सञ्चालनजस्ता गम्भीर अपराधमा संलग्न भएको अभियोग पुष्टि भएको बताइएको छ ।

बेइजिङस्थित सर्वोच्च जन अदालतले उक्त मृत्युदण्डको सजायलाई अनुमोदन गरेको थियो ।