सम्पत्ति शुद्धीकरण मुद्दामा पाकिस्तानी प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न अनुमति माग


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
सम्पत्ति शुद्धीकरण मुद्दामा पाकिस्तानी प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न अनुमति माग
काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन आग्रह गरेको छ।

उनीहरूको अन्तरिम जमानतलाई अदालतले जुन ११ सम्म लम्ब्याएको छ। शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले  बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन।

न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ ।

नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो। सुनुवाईको क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए ।  

सबै बहस सुनेपछि सुनुवाइ जुन २० गतेसम्मका लागि स्थगित गरिएको छ । जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ।

एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।