श्रीलंकामा रोकिएन आन्दोलनः सुरक्षा मजबुत बनाउन सेनालाई विक्रमासिङ्घेको निर्देशन


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
श्रीलंकामा रोकिएन आन्दोलनः सुरक्षा मजबुत बनाउन सेनालाई विक्रमासिङ्घेको निर्देशन
कोलम्बो । चरम आर्थिक संकटका कारण केही समययतादेखि चर्किएको आन्दोलनलाई रोक्न श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिङ्घेले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घेले बुधबार आफ्नो कार्यालयमा प्रदर्शनकारीले आक्रमण गरेपछि सेनालाई सुरक्षाको सबै ब्यवस्था मिलाउन निर्देशन दिएका हुन् । श्रीलंकामा भिषण आन्दोलन चर्किएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेरै भागेपछि प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । 

प्रधानमन्त्री विक्रमासिङघेको विरुद्धमा पनि सडकमा नारा लागेका छन् । बुधबार प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालयमा समेत आक्रमण गरेका थिए । 

श्रीलंका दशकौंयताकै सबैभन्दा बढी चर आर्थिक संकटबाट गुज्रिरहेको छ ।

चरम आर्थिक संकटको दोष नागरिकले देश छाडेर भागेका राजापाक्षेलाई लगाएका छन् । 

देशलाई चरम आर्थिक संकटमा ल्याउन राजापाक्षे प्रशासन प्रमुख हात रहेको तथा कामचलाउ राष्ट्रपति एवम् प्रधानमन्त्री विक्रमासिंघे पनि आंशिक दोषी रहेको नागरिकको गुनासो छ । विक्रमासिंघे गत मेमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

प्रदर्शनकारीहरुले गत शनिवार प्रधानमन्त्री कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै राष्ट्रपति भवन समेत कब्जा गरेका थिए । एक हप्ता पनि नबित्दै बुधबार पुनः प्रदर्शनकारीहरुले दोस्रो पटक उच्च सुरक्षा रहेको प्रधानमन्त्रीको कार्यालयमा तोडफोड गरेका थिए । 


आन्दोलनकारीद्वारा कब्जा गरिएको राष्ट्रपतिको आलिशान भवनमा प्रदर्शनकारी तथा सर्वसाधारणले सेल्फी खिच्दै दरबारका सुन्दर दृष्यहरु कैद गरिरहेका छन् । 

प्रधानमन्त्री विक्रमासिङ्घेले एक टेलिभिजनमा सम्बोधन गर्दै प्रदर्शनकारीहरूलाई आफ्नो कब्जा गरेको कार्यालय र अन्य राज्य भवनहरू छोड्न र अधिकारीहरूसँग सहकार्य गर्न आह्वान गरेका छन् । टेलिभिजन सम्बोधनमा उनले आफूहरु देशको संविधान च्यात्न नसक्ने तथा फासीवादीहरूलाई कब्जा गर्न दिन नसक्ने पनि उदघोष गरेका छन् । उनले लोकतन्त्र रक्षाका लागि फासीवादी खतरा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय खाली गर्न प्रधानमन्त्रीले दिएको निर्देशनको पनि बेवास्ता गरिरहेका छन् । 

प्रधानमन्त्रीको अभिब्यक्तिअनुसार सेनाले सत्ता कब्जा गर्न सक्ने आशंका गरिएको छ । यद्यपि श्रीलंकाको सेनाले राजनीति वा सरकारमा सक्रिय भूमिका खेलेको इतिहास छैन । 

श्रीलंकामा निर्वाचित जनप्रतिनिधिहरु रहेको हुँदा लोकतन्त्रको रक्षार्थ जे पनि सम्भव हुन सक्ने आंकलन गरिएको छ । 

शनिबार राष्ट्रपति भवनमा कब्जा गरेर प्रदर्शनकारीहरुले रमाइलो मान्दै उत्सव मनाइरहँदा सवै सुरक्षा निकाय मुकदर्शक बनेको थियो । (एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

श्रीलंकाली राष्ट्रपति भवनमा प्रदर्शनकारीको ‘सेल्फी’ (फोटोफिचर)

श्रीलंकाका राष्ट्रपति भागेपछि कोलम्बोमा फेरि विशाल प्रदर्शन

राती नै सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति

राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा