दुई वर्षपछि विदेशी पर्यटकका लागि खुल्यो जापान


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
दुई वर्षपछि विदेशी पर्यटकका लागि खुल्यो जापान
एजेन्सी। कोरोना महामारीका कारण दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । 

काेभिड भाइरस नियन्त्रणका लागि जापानले विभिन्न कदम चालेको थियो ।  सन् २०२० मा सम्पन्न  टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो ।  विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो  र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पुर्याएको छ । 

मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र क्षेत्रलाई रातो, पहेलो र निलो गरी तीनओटा जोखिम समूहमा विभाजन गरिएको छ । विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्यांकन गरेर ती देशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्धारण गरिनेछ । 

पयर्टन जापानको अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो ।  सन् २०२० मा पर्यटक आगमन  ९०% भन्दा बढी घटेको थियो ।  तर, विदेशी पर्यटकहरुका लागि सिमाना खुला गरेसँगै पयर्टन व्यवसायी उत्साहित भएका छन् ।