काठमाडौं। अबदेखि सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेपश्चात् ट्राफिक प्रहरीले जारी गर्ने २४ घन्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट – इन्स्ट्यान्ट पेमेन्ट सिस्टम” व्यवस्थाको सुरुवात गरेका हुन्। सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरु गरिएको बताए।
तर, मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि मात्र ट्राफिक प्रहरी महाशाखाबाट आफ्नो कागजात फिर्ता लिन सकिनेसमेत महाशाखाले जनाएको छ।
त्यस्तै पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमश: अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ।