जाजरकोट। चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँट ! देख्दा आहा लागे पनि त्यो क्षणभरमै पीडामा रुपान्तरित हुने गर्छ। घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भए पनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ।
असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयको गुनासो छ। मध्यपहाड र तराई क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकै नासको हुने गर्छ। झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रूपमा आफ्नो परिचय बनाउँदै आएको छ।
‘पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ’, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएकी पेमा गुरुङले भनिन्, ‘छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ। भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिँदैन। यहाँका सर्वसाधारण बिरामी भएमा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ।’
चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ। चिसोसँग मुकाबिला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिएको हो। उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताइन्।
‘हुने खानेहरू सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएका छन्।’
गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले भारी समस्या बनाउने गरेको छ। सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ। हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताए।
उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन। कम्तीमा चार महिना त पूरै खोप बन्द हुने गर्छ।’ चिसो मौसममा पुग्ने गरी खाना जम्मा गरेर यहाँका स्थानीयवासी राख्ने गर्छ। उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गर्छन्।
उपल्लो डोल्पाका तीन पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए। त्यो बेला उनले आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।
उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ। मध्यडोल्पामा मध्यखालको मौसम हुने गर्छ भने तल्लो डोल्पाको मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ। यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ।
उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टसमेत चिसोले प्रभावित हुने गरेका छन्। सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ।
चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार हुने गरेको स्थानीयले बताएका छन्। स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन्। सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रूपमा स्थापित छ। हिउँचितुवालगायत संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ।
हिउँका कारण विकास निर्माणमा बाधा
उपल्लो डोल्पामा हिमपातका कारण विद्यालयसमेत बन्द गरिएको छ। हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्नेछन्। अहिले विकास निर्माणका समेत सबै ठप्प छन्। चैतबाट मात्र विकास निर्माण सुरु हुनेछन्। उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माण हुने गर्छ। आर्थिक वर्षसमेत बदल्नुपर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन्।