काठमाडौं। बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन्।
तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको बताईएको छ। घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो।
श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए। उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो। बेहोस भएका तीनजनाको भने भेरी अस्पतालमै उपचार भईरहेको छ।