चिनियाँ कामदार रोकिँदा नौतले दरबार पुनःनिर्माण अवरुद्ध


खबरस्टोरी संवाददाता
८ मंसिर २०७८, बुधबार
चिनियाँ कामदार रोकिँदा नौतले दरबार पुनःनिर्माण अवरुद्ध

काठमाडौँ। मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

 पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल विसं २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकारछन्  ।

कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले सुनाए । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

 विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताउछन् । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उनले सुनाए । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ । 

 करिब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले  संयुक्त रूपमा दरबार पुनःनिर्माणको शिलान्यास गरेका थिए । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराएका थिए  । 

 सम्झौताअनुसार अझै करिब एक वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरसम्म म्याद रहेको नौतले दरबारको काम चिनियाँ कामदार अब आउन पाए भने समयमा सकिन्छ । कोरोना जोखिम कम भएसँगै विदेशी पर्यटकसमेत हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा आउने थालेकाले यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त संरचना छिटो पुनःनिर्माण सक्नुपर्ने भएको छ । आगामी तीन वर्षमा वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचना पुनःनिर्माण गरिसक्ने गरी काम अघि बढाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।