गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन


खबरस्टोरी संवाददाता
२२ माघ २०७८, शनिबार
गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । 

हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । 

करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ ।