खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका


खबरस्टोरी संवाददाता
१७ मंसिर २०७८, शुक्रबार
खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका

रोल्पा। आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । 

गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ कक्षाकोठा जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिए । 

“भवन जलेको लामो समय बित्दासमेत पुनःनिर्माणका लागि कसैको ध्यान जान सकेको छैन, बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्”, उनले  भने । विद्यालय भवन तत्काल पुनःनिर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको महराको भनाइ छ ।  

बालबालिका कठ्याङ्ग्रिदो जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक थामबहादुर कुँवर बताउछन् । “जाडो विस्तारै बढ्दै छ, पुस– माघमा खुला आकाशमुनि पढाउनुपर्ने अवस्था आउँदैछ”, उनले भने । सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने कुँवरको माग छ । आगलागीपछि पढ्न गाह्रो भएको कक्षा ५ की छात्रा अनिता विकले बताए ।  

सबै विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको प्रधानाध्यापक कुँवर बताउछन् । “एउटै भवनमा मात्र विद्यार्थी नअटाउँदै समस्या भएको छ”, उनले भने । छिमेकी विद्यालय बालकल्याण नमूना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । विद्यालयले १० थान डेस्क बेञ्च सहयोग गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्रभित्र पर्ने उक्त विद्यालय रहेको गाउँ पूर्वसभामुख कृष्णबहादुर महराको जन्मस्थल पनि हो ।