ललिता निवास जग्गा प्रकरण : शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा


खबरस्टोरी संवाददाता
२१ पुष २०७८, बुधबार
ललिता निवास जग्गा प्रकरण : शोभाकान्त ढकालसहित पाँच जना विरुद्ध मुद्दा

काठमाडौँ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा राजस्व अनुसन्धान विभागले पाँचजना आरोपीविरुद्ध राजस्व छली मुद्दा दायर गरेको छ। विभागले अभियुक्त ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल र सान्तु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश छलेको भन्दै उच्च अदालत पाटनमा पाँच जना विरुद्ध मंगलबार मुद्दा दायर गरेको हो।

शोभकान्त ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी हुन् । काठमाडौँको नागार्जुन नगरपालिका-१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र ललितपुर महानगरपालिका–७ सुन्धारा स्थायी ठेगाना भएको राजेश्वर एण्ड कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाई राजस्व चुहावट गरेकाले एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ बिगो असुल गर्न विभागले माग गरेको छ । साथै विभागले कायम भएको बिगोको शतप्रतिशत जरिवाना गर्न उच्च अदालतसमक्ष अभियोगपत्र दायर गरेको हो । 

राजस्व चुहावट गर्न सघाएबापत लेखापरीक्षक श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी विभागले गरेको छ ।