मौसममा क्रमिक सुधार, दिउँसो पारिलो घाम लाग्ने


खबरस्टोरी संवाददाता
१५ पुष २०७८, बिहीबार
मौसममा क्रमिक सुधार, दिउँसो पारिलो घाम लाग्ने

काठमाडौँ। हिउँदे वर्षाका कारण देशभर पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बिहीबार)बाट मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको हो।

मौसमविद् मञ्जु बासीका अनुसार पश्चिम तथा मध्य क्षेत्रका अधिकांश भागमा मौसम सुधार हुँदै गएको र प्रदेश १ तथा लुम्बिनी प्रदेशमा पनि सुधार हुँदै जानेछ।‘पश्चिमतिर मौसम सुधार भइसकेको छ। अहिले विशेष गरी लुम्बनी, प्रदेश एकमा प्रभाव छ, त्यो पनि सुधार हुँदै जान्छ’, मौसमविद् बासीले भनिन्, ‘आज दिउँसो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा पारिलो घाम लाग्छ।’

हालको मौसमी प्रणाली सुधार हुने क्रममा रहे पनि केही स्थानमा भने बदली तथा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ। अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन्।