काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ ।
चार सातादेखि अदालतमा जारी गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति निकालेर वार्तामा आउन आह्वान गरेका थिए। तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने बताएको हो।
आन्दोलनकै क्रममा सर्वोच्च परिसरमा बोलेका बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग वार्ता गर्ने बताएका छन् । ‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ । बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उएिका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं । नयाँ नेतृत्वसँग वार्ता हुन्छ ।’
श्रेष्ठले अब प्रधानन्यायाधीशको विश्वास गर्न नसकिने बताउँदै पदबाट राजीनामा दिएर अहिलेको संकट समाधान गर्न भनेका छन्। ‘प्रधानन्यायाधीशको विज्ञप्तिको अब कुनै रहेन। राजाले पनि अधिकार दियौँ भनेर विज्ञप्ति निकाल्थे', श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था अब रहेन। अब राजीनामा दिएर संकटको निकास दिनुस्।’
प्रधानन्यायाधीश जबराले अहिलेको संकटको निकासका लागि बारलाई वार्तामा बोलाएका थिए। उनले नेपाल बार र सर्वोच्च बारलाई संवादबाटै समस्या समाधानको सम्भावना खोज्न पनि आग्रह गरेका थिए।