काठमाडौँ। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण २ गते शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साे क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ । ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेकाे छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध समेत गरेको छ ।