पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा तथा हिमपातको सम्भावना


खबरस्टोरी संवाददाता
१२ पुष २०७८, सोमबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव :  वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा  पश्चिमी  वायुको  प्रभाव  रहेको  छ। यसै  प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिन जारी गरेर देशको पश्चिमी क्षेत्रबाट आइतबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलिने क्रममा रहेको उल्लेख गरेको हो ।

विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशहरुका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।’

यस्तै उच्च पहाडी र हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। बुलेटिनमा भनिएको छ, ‘सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

मंगलबार र बुधबार पश्चिमी न्यून चापीय प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ। पश्चिमी न्यून चापीय मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।