सम्झनामा पूर्वराजा विरेन्द्र


खबरस्टोरी संवाददाता
१४ पुष २०७८, बुधबार
सम्झनामा पूर्वराजा विरेन्द्र

आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिन ।  केही वर्ष पहिले आजकै दिन नेपालमा सार्वजनिक बिदा हुने गर्थ्यो, तत्कालीन राजा वीरेन्द्र शाहको जन्मदिनको उपलक्ष्यमा। अहिले देशमा गणतन्त्र आएको छ। राजतन्त्र देशबाट हटिसकेको छ।

२०५८ सालकाे त्याे दिन अर्थात जेठ १९ । जुन दिन नेपालीहरुले प्रिय मानेका तत्कालिन राजा विरेन्द्र शाहकाे सम्पूर्ण परिवारकै हत्या भयाे । उच्च सुरक्षाघेरका बीचमा रहेका राजपरिवारकाे दरबारभित्रै कसले हत्या गर्याे भन्ने बिषय अझै पनि आम मानसको मस्तिष्कमा अनुत्तरित प्रश्न बनेर बसेको छ  ।पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनी छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । त्यसपछि कतिले राजा ज्ञानेन्द्रले आफ्ना दाजुकाे वंश नास गर्ने याेजना बुनेकाे आराेप पनि लगाए । तर त्यसकाे रहस्य इतिहासकै काखँमा  छ । 

विरेन्द्र नेपालका दशौं शाहवंशीय राजाका रूपमा थिए । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालनमा निपुर्ण पनि मानिएका थिए । नेपाललाई शान्तिराष्ट्र घोषणा गर्न उनले खेलेको भूमिका अतुलनीय छ । आफनो राज्याभिषेकका बेला २०३१ मा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि उनले बनाएका थिए । जुन प्रस्तावलाई भारत वाहेक १ सय ३० राष्ट्रले समर्थन गरेका थिए । बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरूबाट कूटनीति र राजनीतिको शिक्षा लिएका थिए । यसले नै उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पुर्याएको विश्लेषकहरु बताउछन् ।

पृथ्वीनाराण शाह देखि यता १२ औँ  शाहवंसीय राजा थिए स्वर्गीय वीरेन्द्र । जसले २०२८ देखि २०५८सम्म नेपालमा शासन गरेका थिए । राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए । जसले नेपाललाई विश्वमा एक समृद्ध, स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेले । पिता महेन्द्रको देहवसानपछि राजगद्दी सम्हालेका राजा वीरेन्द्रले चीन, भारतसँग सन्तुलित सम्बन्ध स्थापना तथा पञ्चायतविरोधी शक्तिसँग पनि सहकार्य गरे । यो मुलुक दुई ढुंगाबीचको तरुल हो भन्ने पृथ्वीनारायण शाहका दिव्य–उपदेशबाट प्रभावित राजा वीरेन्द्रले कहिले राष्ट्रियताविरुद्ध सम्झोैता गरेनन् । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई साकार बनाउन राजा वीरेन्द्रले २०३६ सालमा राष्ट्रिय जनमत संग्रह घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजेका थिए । बिपी कोइरालाको देहवसानपछि भारतको चर्को दबाबबाट २०४६ सालको जनआन्दोलन भए तापनि राजा वीरेन्द्रले बहुुदलीय व्यवस्था पुनस्र्थापना गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए । २६ बर्षको उमेरमा शासन सम्हालेर विकासको मूल फुटाउँको नारा अगाडि सारेका यीनले निर्दलीय व्यवस्थाका १९ बर्ष र वहुदलीय व्यवस्थाका ११ बर्ष राजगद्दी सम्हाले । जनमत संग्रह, शान्ति क्षेत्रको प्रस्ताव र सन् १९८३ तिर सन् २००० सम्ममा नेपाली जनतालाई आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यको नारा ल्याए तर यीनले जे जे भने विडम्बना हाम्रा तर्फबाट विरोध नैं भयो।

तत्कालीन समयमा नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनले राजा, राष्ट्रवादीलगायत सबै पक्षका वामपन्थीलाई मिलाएर देशलाई निकास दिएका थिए । जनआन्दोलनको मार्गदर्शनअनुसार नयाँ संविधान बनाउनु अत्यावश्यक थियो । उनकै पहलमा २०४७ कात्तिक २३ गते नयाँ संविधान घोषणा भयो । राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे । राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेको भन्ने गरिन्छ । राजा वीरेन्द्रकै शासनकालमा कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीको शासनविरुद्ध माओवादी विद्रोहले उग्र रूप लिएको थियो । २०५६ सालभन्दा अगाडि माओवादीले सहकार्य गर्न राजासँग प्रस्ताव राखेका थिए । तर राजाले सकारात्मक संकेत नदिएपछि तत्कालिन माओवादीले नेपालमा द्वन्द चर्काएको थियो । राजा वीरेन्द्रको देहवसानपछि विदेशीले नेपालमा खेल्ने मौका पाएको समालोचकहरु बताउछन् । आधुनिक युगसम्म पनि राजतन्त्रात्मक देश जापान, बेलायत लगायत ४४ राष्ट्रमा राजारानीले युगको माग अनुसार जनताको इच्छा र चाहना शासन गरिरहेका छन् । अर्थात् आधुनिक युगको शब्दाबलीमा सार्वभौम जनताको भावना र चेतना अनुरुप देश र जनताको भविष्य र अधिकारका लागि प्रमुख भूमिका खेलेकोमात्र होइन, व्यक्तिगत भावना र जीवनशैली पनि उनीहरुले देखाएका छन् । त्यसैले गर्दा ती देशमा आजसम्म पनि राजतन्त्र शान्त र स्थिर छ ।  

राजतन्त्र अन्त्य भएर देशमा गणतन्त्र आएपनि आझै आम नेपालीले भने स्वर्गीय राजा विरेन्द्रलाई सधैं सम्झिरहने गरेका छन् । राजनीतिक व्यवस्थामा परिवर्तन भएपनि आस्थामा भने परिवर्तन हुन सकेको छैन।