थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो


खबरस्टोरी संवाददाता
१० मंसिर २०७८, शुक्रबार
थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

विगत डेढ महिनादेखि उनको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उनका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन् । उनिहरुको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताए ।

नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गरेको बताइएको छ ।