काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्णतया बादल लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही पहाडी भू–भागमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भैरहेको छ। यो प्रणालिको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः पूर्वी भूभाग सम्म फैलिँदै गएको मौसमविदले बताएका छन् ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
आउँदो बिहीबारसम्मै देशभर पश्चिमी न्यूनचापीय प्रणालीको असर रहने छ । त्यसपछि मौसममा बिस्तारै सुधार आउने मौसमविदले बताएका छन् । त्यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।