देशभर वर्षा, हिमाली जिल्लामा हिमपात


खबरस्टोरी संवाददाता
१४ पुष २०७८, बुधबार
देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

काठमाडौँ।  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण  आज काठमाडौँ उपत्यकासहितका विभिन्न क्षेत्रमा पानी परेको छ ।

मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भैरहेको मौसमविदले बताएका छन् ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।