विनाकसुर ४१ वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादलाई ५ लाख क्षतिपूर्ति


खबरस्टोरी संवाददाता
२३ मंसिर २०७८, बिहीबार
विनाकसुर ४१ वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादलाई ५ लाख क्षतिपूर्ति

काठमाडौं । विनाकसुर भारतको जेलमा ४१ वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई ५ लाख भारु क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख (नेपाली आठ लाख रुपैयाँ) जम्मा गर्न आदेश दिएको हो ।

दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाका अनुसार उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले अबको ६ साताभित्र सरकारले तिम्सिनाकै खातामा रकम जम्मा गर्नुपर्ने उनको भनाई छ । उनले दुर्गाप्रसादको बैंक खाता नभए, उनको नजिकको नातेदारको खातामा रकम पठाइने पनि बताएका छन् ।

अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधि उपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विना कसुर जेल परेका तिम्सिनाले सुनुवाइ विना नै ४१ वर्ष भारतीय जेलमा बिताउनु भएको थियो ।