जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा जडान गरेको अक्सिजन प्लान्टमा विद्युत भोल्टेज नपुग्दा संचालनमा समस्या भएको छ । ३०० केभिएको विद्युत पावर आवश्यकता पर्ने भएकाले कार्यालयको प्लान्ट सञ्चालनमा समस्या भएको हो ।स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले बताए । क्षमता विस्तार गर्नका लागि १० लाख बराबरको खर्चको स्टिमेट आएको जैसीले बताए ।
नेपाल विद्युत प्राधिकरणले भने ५० सैय्याको अस्पताल निर्माण भइरहेकाले पटकपटक क्षमता विस्तार गर्नुभन्दा पछि एकै पटक काम गर्न आग्रह गरिरहको छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि जेनेटरको पावरले समेत अक्सिजन प्लान्ट संचालमा समस्या आइरहेको छ । थप समस्या आउने डरले जेनेरेटर प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले बताए । कोभिड महामारी फैलिएको समयमा प्लान्टलाई सञ्चालन प्रभावकारी बनाउ पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।
विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत प्राधिकरणले बताएको छ । जाजरकोटमा अहिले ११ केभी प्रसारण लाइनको विद्युत सञ्चालनमा रहेको छ । १३२ केभी प्रसारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेतसम्म काम भइरहेको छ । उताको काम सम्पन्न हुन बित्तिकै जाजरकोट खण्डको काम हुनेछ । १३२ केभी प्रसारण लाइनका लागि मेहलकुनामा सव स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ । यो प्रसारण लाइन निर्माण भएमा मात्र फुलफेजमा काम हुनेछ । जाजरकोट भएर रुकुम पश्चिममा विद्युत सेवा प्रवाह हुँदै आएको छ । जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातारणीय प्रभाव मुल्यांकनको काम समेत भइरहेको छ ।