आ–आफ्नै खालमा पासा पल्टाउने दाउ


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०७८, बुधबार
आ–आफ्नै खालमा पासा पल्टाउने दाउ

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले दुई फरक फरक रणनीति अपनाएका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले जे जसरी भए पनि अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउने रहेको भने गठबन्धनका अन्य तीन दल जे जसरी भए पनि गठबन्धन जोगाउनुपर्छ भन्नेमा छन् । 

गठबन्धनमा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन जोगाइराख्नुपर्ने पक्षमा छन् । 

गठबन्धन जोगाउनककै लागि माधव नेपालको पार्टी एकीकृत समाजवादीले औपचारिक रुपमै एमसीसी सदनमा टेबल गर्न दिने निर्णय गर्यो भने माओवादी केन्द्र विरोध गरिरहने तर टेबल गर्न नरोक्ने निश्कर्षमा पुग्यो । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेपालबीचको आन्तारिक सहमति जुटाएर नै आइतबार प्रधानमन्त्री देउवाले एमसीसी सदनमा अघि बढाएका थिए । 

तीन नेताबीचको भद्र सहमतिकै कारण प्रचण्ड र नेपालले गठबन्धन नतोडिने बताइरहेका छन् । 

एमाले फुटाएर नयाँ पार्टी बनाएका नेता नेपाललाई आफ्नो पार्टीको रक्षाका लागि पनि गठबन्धन जोगाइराख्न चाहेका छन् । एमालेले नेपालका १४ सांसदलाई निलम्बन गर्नुपर्ने एकमात्र अडान राखेर ६ महिनादेखि संसदमा भाग नलिएर नाराबाजी गर्दै आएको छ । 

सरकारको नेतृत्व गरेको दल कांग्रेसले गठबन्धन भत्किए पनि एमसीसी पास गर्न चाहेको छ । त्यसैले कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमाले गुहारिरहेको छ । एमसीसीबारे मतदानको अवस्थासम्म आउँदा पनि प्रचण्ड र नेपालले साथ नदिएमा देउवाले जस्तोसुकै कदम चाल्न पछि पर्ने छैनन् ।  

आफैले संसदमा दर्ता गराएको एमसीसी समर्थन गर्न एमालेलाई कुनै बाधा छैन । तर, उसले देउवालाई गलाएर गठबन्बन्धन भत्काउने र नयाँ समिकरण बनाएर सभामुख अग्नि सापकोटालाई हटाउने रणनीतिमा छ । गठबन्धन मिल्दा सत्ता गुमाएको एमालेले पछिल्लो समय राष्ट्रियसभाको रिक्त ७ पद पनि गुमाउन पुग्यो । 

कांग्रेसको काँध थापेर आसन्न तीन वटै निर्वाचनमा गठबन्धन कायमै राख्न चाहेका प्रचण्ड र नेपाललाई अलग गर्न सकेमा आफ्नो राजनीतिक स्वार्थको दाउ ओलीले हेरिरहेका छन् ।  

एमसीसीकाविरुद्ध निरन्तर सडक आन्दोलन भइरहँदा र प्रचण्ड र नेपालका कार्यकर्तासमेत आन्दोलनमा उत्रिदा पनि एमाले एमसीसीबारे मौन रहनुले पनि एमालेले सजिलै साथ दिन्छ भन्ने बुद्धिजीवीहरु बताउँछन् ।   

यता, सरकारमा रहे पनि संसदबाहिरका दलहरुसँग मिलेर एमसीसीविरुद्ध सडक आन्दोलनमा रहेको जनमोर्चाले सत्ता स्वार्थकै कारण गठबन्धन कायम रहने बताएको छ । सडक आन्दोलनमा रहेका पार्टीहरुको विरोधसभामा पनि जनमोर्चा नेतृ दुर्गा पौडेलले आफूले सरकार, सदन र सडकबाट आन्दोलन जारी राख्ने र गठबन्धन कायमै रहने बताएकी छन् ।