अमेरिकाको उच्चस्तरिय भ्रमण तयारी गर्दै प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
अमेरिकाको उच्चस्तरिय भ्रमण तयारी गर्दै प्रधानमन्त्री देउवा
काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने भएका छन्  । पछिल्लो समय नेपालको अमेरिकासँग सम्बन्ध निकै सुदृढ भएको छ । देउवा प्रधानमन्त्री बनेपछि एमसीसी सदनबाट पारित भएको छ । अमेरिकी सहयोग निकाय युएसएआइडीले थप सहयोग घोषणा गरेको छ ।

दुई दशकपछि नेपालको सरकार प्रमुखबाट अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । 

नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । 

नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए । ‘तर अहिले नै कहिले भ्रमण हुन्छ वा हुन्न भन्ने बेला भइसकेको छैन,’ उनले भने ।

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।


यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोलीले वैशाख ९–११ मा नेपाल भ्रमण गरेको थियो । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ वैशाख ६ मा आएर पर्सिपल्ट फर्किएका थिए । संसद्बाट फागुन १५ मा एमसीसी सम्झौता अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए ।