बाबुरामको उम्मेदवारी फिर्ता, लेखनाथलाई सहज


खबरस्टोरी संवाददाता
१० माघ २०८२, शुक्रबार
बाबुरामको उम्मेदवारी फिर्ता, लेखनाथलाई सहज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले शुक्रबार  आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । 

गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए । यो क्षेत्रमा नेकपाबाट लेखनाथ न्यौपाने, कांग्रेसबाट प्र्रकाशचन्द्र्र दवाडी, एमालेबाट मिलन गुरुङ र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।