बैकल्पिकको केन्द्रमा कसरी देखिए बालेन शाह ?


खबरस्टोरी संवाददाता
१० पुष २०८२, बिहीबार
बैकल्पिकको केन्द्रमा कसरी देखिए बालेन शाह ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन) बैकल्पिक राजनीतिक राजनीतिको केन्द्रमा देखिएका छन् । 

सधैं सामाजिक सञ्जालबाट स्टाटस लेखेर चर्चा र आलोचना बटुल्ने गरेका बालेनले केही दिनयता आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् । 

उनले मंगलबार रास्वपा सभापति रवि लामिछानेसँग ५ घण्टा बढी छलफल गरेका थिए । लामिछानेले बालेनलाई प्रधानमन्त्रीकै आश्वासन दिए । बालेन–रवि भेटमा भएको कुराकानीका क्रममा प्रधानमन्त्रीको भागबण्डाको प्रशंग रास्वपाका नेताहरुले नै चुहाएका थिए ।

तर रविले वान टु वान वार्तामा भएको कुरालाई मिडियामा कपोल्कल्पित हवाला दिएको टिप्पणी गरेका थिए । रविसँगको पहिलो वार्ता सकारात्मक नभएपछि बालेनले बुधबारदेखि अन्य वैकल्पिक ठानिएका समूहहरुसँग छलफल थालेका थिए । 

ज्वागल केन्द्र बनाएर १२ घण्टा छलफल 

विहीबार रास्वपा सभापति रवि लामिछानेदेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई आफ्नो सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवासमा बोलाएर वान टु वान वार्ता गरे । रविसँग विहीबार पुनः २ घण्टा बढी छलफल गरेका बालेनले विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंह, पूर्व प्रधानन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. सुनिल शर्मा, राप्रपा प्रवक्ता ज्ञानबहादुर शाहीसँग छुट्टाछुट्टै छलफल गरे । 

जेनजी आन्दोलनका अगुवा रक्षा बम लगायत विभिन्न समूहसँग पनि उनले विहीबार नै सोही ठाउँमा छलफल गरे । उनले आफू अब राजनीतिमा होमिएको भन्दै भन्दै सबै वैकल्पिक शक्ति एक ठाउँमा उभिन आग्रह गरे । जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, बालेनले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर  आग्रह गरेका थिए । 

न संगठन, न राजीतिक नेता, कसरी बने शक्ति केन्द्र ? 

७९ सालको निर्वाचनमा स्वतन्त्र रुपमा काठमाडौं महानगरको मेयर निर्वाचित बालेनले अहिलेसम्म कुनै पार्टी बनाएका छैनन् । फागुन २१ को लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान हुँदा पनि उनले आफू देखिने गरि कुनै दल दर्ता गराएनन् । 

बरु जेनजी आन्दोलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चामा आए पनि बालेन खुला रुपमा राजनीतिमा देखिएनन् । केही विवादित स्टाटसले आलोचित बने । उनलाई केही राजनीतिक विश्लेषकहरुले लुसिफरको संज्ञा दिए । उनका आलोचकहरुले बालेनलाई लुसिफर भनेर आलोचना गरि नै रहे । 

जेनजीका नाममा थुप्रै समूह बन्यो । केही निर्वाचन आयोगमा दल दर्ता पनि भए । तर बालेन कतै देखिएनन् । भारत, अमेरिका, चीन जस्ता छिमेकी तथा शक्ति राष्ट्रलाई नै सामाजिक सञ्जालमा अलोचना गरिए । बालेनले नशाको सुरमा समाजिक सञ्जालमा स्टाटस लेख्ने गरेको आरोप लगाउने गरेका छन् । 

भदौ २३ र २४ को जेन्जी आन्दोलन भड्काएको आरोप समेत बालेनमाथि लाग्दै आएको छ । जेनजी आन्दोलनअघि महानगरमै पनि प्रमुख प्रशासकीय अधिकृतसँगको टसल वर्षौसम्म भएको थियो । उपमेयर सुनिता डंगोलले प्रतिवाद नै गर्नु परेको थियो । 

संगठन र विचार विनाको एक्लो मेयर यतिबेला बैकल्पिक राजनीतिको केन्द्र कसरी बनेका छन् । उनले जहाँ भनेका छन्, त्यही सबै नेताहरुको लर्को किन लागेको छ भन्ने प्रश्नहरु अहिलेसम्म अनुत्तरित छन् ।