बालेन साहः मेयरबाट राजीनामा, घण्टी बजाएर चुनावी मैदानमा


खबरस्टोरी संवाददाता
५ माघ २०८२, आईतवार
बालेन साहः मेयरबाट राजीनामा, घण्टी बजाएर चुनावी मैदानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर  बालेन्द्र साह (बालेन) चुनावी मैदानमा उत्रिएका छन् । 

महानगरको साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर पदबाट राजीनामा दिएका बालेनले बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर घण्टी बजाउँदै चुनावी मैदानमा उत्रिएका हुन् । 

निकै रवाफका साथ जेनजी आन्दोलनको स्टेक होल्डर बताउने ‘हामी नेपाल’ एनजीओका प्रमुख सुधन गुरुङको साथमा रास्वपा कार्यालय पुगेका बालेनले निकै जोडले कार्यालयको मुल गेटमा झुण्ड्याएको घण्टी बजाए । 

रास्वपा सभापति रवि लामिछानेसँग अंकमाल गरि घण्टी बजाएका उनी रास्वपाको बैठकमा भने सहभागी भएनन् । मात्र १० मिनेट कार्यालयमा रहेका बालेनले बरिष्ठ नेताको पदबहाली गरे । 

रास्वपा कार्यालयबाटै दुई दर्जन बढी युट्यूबरहरुलाई बोकेर मधेस झरे । मेयरबाट राजीनामा दिएर रास्वपाको चुनावी अभियानमा होमिएका बालेन आइतबार नै जनकपुर पुगे । जनकपुरमा सोमवार हुने रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न भनी बालेन मधेस झरेको रास्वपाले जनाएको छ । 

बालेनको सामाजिक सञ्जालमा निकै फलोअर भएकाले पनि उनको पक्षमा मास बटुल्न सकिने र सेन्टिमेन्ट क्यास गर्न सकिने रास्वपाको बुझाइ छ । 

केही दिनअघि मात्रै भावी प्रधानमन्त्री हुने भनी रविसँग लिखित सहमति गरेका बालेनलाई रास्वपाले बरिष्ठ नेताको पद सिर्जना गरिदिएको छ । 

मैदानमा नउत्रिदै एमाले अध्यक्ष केपी ओली उठ्ने झापा ५ बाटै चुनाव लड्ने प्रचार गरेर बालेनले मिडिया ट्रायल गरेका छन् ।