बालेनप्रति ओलीको छुद्र टिप्पणी, बतासे अण्डाबाट चल्ला निस्किदैन


खबरस्टोरी संवाददाता
१८ माघ २०८२, शनिबार
बालेनप्रति ओलीको छुद्र टिप्पणी, बतासे अण्डाबाट चल्ला निस्किदैन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति छुद्र टिप्पणी गरेका छन् । 

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिससा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालेनलाई बतासे अण्डाबाट चल्ला ननिस्किने भनी छुद्र टिप्पणी गरेका हुन् । 

‘अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन । यी बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन ।’ ओलीले बालेनप्रति लक्षित गर्दै भने, ‘यी बतासका खेती गरिरहेका छन्, यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन ।’ 

ओलीले बालेनको नाम नलिइकन झापा–५ मा आफूसँग केही ठुटे सिङ लिएर कोही सिंगौरी खेल्न आएको पनि टिप्पणी गरे । 

ओलीले आगामी फागुन २१ निर्वाचन देश जलाउने र देश बनाउनेहरुबीचको प्रतिष्पर्धा भएको बताए । उनले त्यसैले १ सय ६५ वटा क्षेत्रमा एउटा क्षेत्र पनि उनीहरुको पक्षमा जान नहुने भन्दै चुनावी अभियानमा गम्भीर ढंगले लाग्न कार्यकर्ताहरुलाई निर्देशन गरे । रास्वपा कुनै उद्देश्य र विचार बिनाका पार्टी भएको ओलीको आरोप छ ।