बार एसोसिएसन निर्वाचन : सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा


खबरस्टोरी संवाददाता
२३ फाल्गुन २०७८, सोमबार
बार एसोसिएसन निर्वाचन : सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल बार एशोसिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सत्ता गठबन्धनको प्यानलले गोपालकृष्ण घिमिरेलाई अध्यक्षको रुपमा अघि सार्ने भएको छ। 

आइतबार बसेको सत्ता गठबन्धका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन् । कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष घिमिरे कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन् । 

एमाले निकट कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ। पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो। 

जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन्।