बतास समूहले पशुपति धर्मशालाभित्र प्रवेश गर्न रोक्यो सरकारी टोलीलाई


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
बतास समूहले पशुपति धर्मशालाभित्र प्रवेश गर्न रोक्यो सरकारी टोलीलाई
काठमाडौं ।  पशुपतिनाथ परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई व्यवस्थापन पक्षले गेट लगाएर भित्र पस्नबाट रोकेको छ ।

आज बिहान टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोजेको थियो । तर, बतास समूहका प्रतिनिधिले टोली देख्नेबित्तिकै गेट बन्द गरे ।  त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिए ।

गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन समेत भएको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले  चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न गोरखापत्रमा सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन उल्लेख गरिएको छ ।