चिनियाँ कम्युनिस्ट नेता लिउ आज नेपाल आउँदै


खबरस्टोरी संवाददाता
२६ असार २०७९, आईतवार
चिनियाँ कम्युनिस्ट नेता लिउ आज नेपाल आउँदै
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपाल आउँदैछन् । 

विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली चारदिने नेपाल भ्रमणमा आउन लागेको हो । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आउन लागेका हुन् । 

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए । 

लिउले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्या भण्डारीदेखि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा विभिन्न राजनीतिक दलका नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको छ । 

लिउले सत्ता गठबन्धनका सहयात्री दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी तथा विपक्षी दल नेपाली एमालेका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

विदेश विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । 

नेपालमा २०७४ को निर्वाचनयता पाँच वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।