चिनियाँ नेता लिउले प्रचण्डलाई भने : राष्ट्रिय स्वाधिनताको विषयमा सबै पार्टी मिलेको राम्रो


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
चिनियाँ नेता लिउले प्रचण्डलाई भने : राष्ट्रिय स्वाधिनताको विषयमा सबै पार्टी मिलेको राम्रो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी)का विदेश विभाग प्रमुखबीच भेटवार्ता सम्पन्न भएको छ । चार दिने नेपाल भ्रमणमा रहेका सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

भेटवार्तामा नेपाल र चीनको सम्बन्धका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै विकासमा सहयोग गर्नेबारे छलफल भएको हो ।

‘छलफलमा नेपलाको विकासको प्रक्रियामा चीनले गर्दै आएको सहयोगबारे धन्यवाद, चीनमा अध्ययनरत विद्यार्थीको समस्या समाधान, दुई देशको व्यापार घाटा कम गर्ने, अरनीको राजमार्ग र केरुङ नाकाबाट हुने व्यापार कम गर्नेबारे छलफल भयो,’ नेता श्रेष्ठले भने ।

यस्तै, छलफलमा चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)का बारेमा समेत छलफल भएको छ । नेता श्रेष्ठका अनुसार बिआरआई सम्झौताका सन्दर्भमा लिउले नेपाललाई योजनाहरू ठोस रुपमा छनोट गरी सोहीअनुसार सम्झौता गर्न आग्रह गरेका थिए ।

सोमबार दिउँसो भएको भेटमा प्रचण्डसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र पम्फा भुसाललगायतको उपस्थिति थियो ।