काठमाडौँ — पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लैजानका लागि आग्रह गरेका छन् ।
विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लगेमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । ’मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚’ गौतमले भनेका छन्, ’यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’
विज्ञप्तिमा गौतमले जनसाधारणले राम्रोसँग बुझ्ने गरी सम्झौताको विषयलाई बुझाउनसमेत आग्रह गरेका छन् ।