फुट्यो कांग्रेसः बैधानिकता कसलाई ?


खबरस्टोरी संवाददाता
२ माघ २०८२, बिहीबार
फुट्यो कांग्रेसः बैधानिकता कसलाई ?

काठमाडौं । जेनजी आन्दोलनपछि उठेको नयाँ बहससँगै नेपाली कांग्रेस विभाजित भएको छ । 

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेपछि पार्टी औपचारिक विभाजनमा गएको हो । 

उक्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका थिए । एक सय २५ जना केन्द्रीय सदस्य सहभागी भएको देउवा पक्षीय केन्द्रीय समिति बैठकले कारबाही गरेपछि गगन समूहले विशेष महाधिवेशनमा बुधबार नै गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समिति निर्वाचित भएको घोषणा गरेको छ । 

कांग्रेसमा वैधानिकताको लडाइँ 

नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको लडाइँ सुरू भएको छ ।

अब कांग्रेसको वैधानिकलाई लिएर कानुनी झमेला र दाउपेच सुरू हुने निश्चित छ । यो अवस्थामा कांग्रेसको कुन समूहले आधिकारिता पाउला भन्ने चासो छ । दुवै पक्ष आ–आफ्नो बैधानिकताको दाबी गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका छन् । 

सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन र विश्वप्रकाश तथा सहमहामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरेर विवरण अद्यावधिकका लागि निर्वाचन पठाएको छ ।