गणतन्त्र स्थापनाको १४ वर्ष पूरा


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
गणतन्त्र स्थापनाको १४ वर्ष पूरा
काठमाडौँ । आज जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ । आजकै दिन राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो । 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

दश वर्षको सशस्त्र युद्ध र २०६२/६३ को जनआन्दोलनको बलमा वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

त्यसअघि राजा ज्ञानेन्द्रले ०५९ सालमा संसद विघटन गरी वर्तमन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो साशनकालको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्याे समय ज्ञानेन्द्रले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । 

त्यसपछि वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए । तत्कालिन सशस्त्र युद्धरत माओवादीबाहेक अन्य राजनीतिक दललाई समेत लत्याएर शाहले शासन हातमा लिएपछि शाही कदमको विरुद्ध सडक आन्दोलन गर्दै आएका सात दल र विद्रोही नेकपा (माओवादी)बीच भारतको नयाँ दिल्लीमा १२ बुँदे समझदारी भई २०६२ फागुनदेखि निर्णायक आन्दोलन भएको थियो । उक्त निर्णायक आन्दोलन जनआन्दोलनको रुप लिँदै ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गराएका थिए । 

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । 

पुनःस्थापित संसद हुँदै अन्तरिम संसद गठन भई २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नै राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो । सोही दिनलाई सरकारले गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।