गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी'


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी'
काठमाडौँ। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको गाडीमा मंगलबार साँझ कार्यालयमै पुगेर तोडफोड गरेका थिए। सरकारी गाडी तोडफोड गरेको भए पनि उनलाई कुनै कारबाही नगरि मिलापत्र भएको छ । 

नेपाली कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेपछि गाउँपालिकाको बैठक बसेको थियो।

उक्त बैठकमा ‘प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी मर्मत गर्न लगाउने र माफी माग्ने भनेर मिलापत्र भएको छ’, अध्यक्ष गच्छदारले भने ‘अब पनि यस्तै घटना भए कानूनअनुसार कारवाही गर्ने निर्णय भएको छ।’