जाँचबुझ आयोगलाई लिखित स्टेटमेन्ट, मानव अधिकारमा सवालजवाफ


खबरस्टोरी संवाददाता
२० पुष २०८२, आईतवार
जाँचबुझ आयोगलाई लिखित स्टेटमेन्ट, मानव अधिकारमा सवालजवाफ

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगलाई लिखित जवाफ दिएका छन् । 

भदौ २३ र २४ गतेको घटनाको लागि बनेको जाँचबुझ आयोगलाई ओलीले आइतबार लिखित स्टेटमेन्ट दिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । बयानका लागि बोलाइएको पत्र थमाउन गएको टोलीलाई नै ओलीले लिखित स्टेटमेन्ट दिएको हो । ओलीको जिखित जवाफमाथि अध्ययन गरिने आयोगले स्पष्ट गरेको छ । 

यसअघि ओलीले सुशीला कार्की नेतृत्वको सरकार नै संविधान विपरित बनेको भन्दै कार्की नेतृत्वको सरकारले बनाएको आयोगलाई स्वीकार नगर्ने बताएका थिए । तर आयोग पदाधिकारीहरुले भने सबैलाई बयान लिने भन्दै ओलीसँग पनि कानूनसम्मत ढंगले बयान लिने बताउँदै आएका थिए । 

तत्कालिन ओली सरकारकै गृहमन्त्री रमेश लेखकले आयोगमै पुगेर बयान दिएपछि ओलीले सिंहदरबारस्थित आयोगमा बयान दिन नजाने जवाफ दिएका थिए । 

आयोगमा जवाफ दिन नआउने ओलीको अड्डीपछि आयोगले लिखित जवाफ पनि स्वीकार गर्ने बताएको थियो । सरकार र ओली दुवैलाई विन विन हुने गरी आयोगले मध्यमार्गी बाटो अवलम्बन गरेपछि ओलीले लिखित स्टेटमेन्ट दिएका हुन् । 

मानव अधिकार आयोगमा २ घण्टा सवाल जवाफ 

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई लिखित स्टेटमेन्ट बुझाएका ओलीले मानव अधिकार आयोगमा भने आफै बयान दिन पुगेका छन् । 

पुस २० गते आइतबार नै ओलीले मानव अधिकार आयोगको कार्यालयमा पुगेर साढे २ घण्टा लामो बयान दिएका छन् । उनलाई आयोगकी सदस्य लिली थापाले बयान लिएकी थिइन् । आयोगले तयार पारेको दुई दर्जन बढी प्रश्नवहरु उनले ओलीलाई सोधेकी थिइन् । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोनलका क्रममा सरकारको कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद् अध्यक्षको हैसियतमा ओलीलाई प्रश्न गरिएको थापाले बताइन् ।