जसपामा कलह, बहुमत सदस्यको हस्ताक्षर संकलन


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
जसपामा कलह, बहुमत सदस्यको हस्ताक्षर संकलन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बैठक नबसेको लामो समय भयो। पार्टीभित्रको विवादकै कारण बैठक बस्न सकेन । अन्तरकलह चर्किँदै गयो। यसै कारण पार्टी फुटको संघारमा पुगेको छ । अहिले नेताहरू हस्ताक्षर अभियान चलाउन व्यस्त छन् । तर, त्यो हस्ताक्षर कुन प्रयोजनका लागि हो उनीहरू प्रष्ट खुलाउँदैनन् । 

अभियानमा संलग्न नेता भन्छन्, ‘बैठक बोलाउन दबाब दिन हो।’ तर, केही नेता भन्छन्, ‘त्यो पार्टी फुटाउन पनि उपयोगी बन्ने सम्भावना छ।’ नेताहरू राजकिशोर यादव, महेन्द्र राय यादव, प्रदीप यादव, इस्तियाक राइनलगायतले हस्ताक्षर संकलन गरिरहेका छन् ।

यता, पार्टी फुटसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पार्टी एकताको विषय पनि चर्चामा छ। पार्टीका संघीयपरिषद् अध्यक्ष बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग दुई पक्षीय भेटघाट हुने जसपा नेता प्रशान्त सिंह बताउँछन् । 

भन्छन्, ‘केही दिनभित्र लोसपाका नेता र हाम्रा नेताहरूबीच भेटघाट हुने कुरो मैले पनि सुनेको छु । त्यो भेटमा पार्टी एकताको विषयमा पनि कुरा हुन सक्छ । तर, पक्का खबर भने छैन ।’ 

लोसपाका केही नेता भने पार्टी नै नभई बाबुराम भट्टराई समूह मात्रै मिल्न सक्ने बताउँछन् । ‘पार्टी नै मिल्ने वा एकता हुने भन्ने होइन । बाबुरामजीहरू लोसपा भित्रै हुनुुहुन्छ । तर, खटपटको अवस्था हेर्दा उहाँहरू त्यता मिल्न पनि सक्ने सम्भावना उत्तिकै छ,’ लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झा भन्छन् । 

उनी यस्तै अवस्थामा भने सहकार्य हुन नसक्ने बताउँछन्। तर, यस्ता विषयमा हालसम्म कुनै छलफल र कुराकानी नभएको उनले बताए ।  जसपालाई फुटाएर महन्थ ठाकुरले लोसपा गठन गरेको १० महिना भायो। तर, पार्टी अध्यक्ष यादवले फुटको समीक्षा पार्टीभित्र नगरेकामा नेताहरू सन्तुष्ट छैनन्। एक्लै पार्टीको अधिकार उपयोग गरेपछि पार्टीभित्र चर्को असन्तुष्टि छ ।

केन्द्रअध्यक्षमा यादव, संघीय परिषद्को संयोजकमा भट्टराई र वरिष्ठ नेतामा आशोक राईमा छन् । ३४ सदस्य कार्यकारी समिति र ४ सय ९९ सदस्य केन्द्रीय समितिका रहेको जसपामा अन्य नेताहरू जिम्मेवारीविहीन रहेको आजको अन्नपूर्णपोष्टमा खबर छापिएको छ ।