कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपियो


खबरस्टोरी संवाददाता
१८ पुष २०८२, शुक्रबार
कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपियो

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थपेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि मंसिर १५ को बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।

उनले यही पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए । उनका अनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पास गरिएको हो ।

यद्यपि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारीमा बस्न १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।