कानून मन्त्री कोइरालाले भने- खल्तीबाट नाम झिकेझैँ अबदेखि न्यायाधीश नियुक्ति हुँदैन


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
कानून मन्त्री कोइरालाले भने- खल्तीबाट नाम झिकेझैँ अबदेखि न्यायाधीश नियुक्ति हुँदैन
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर नियुक्तिका लागि निर्देशिका ल्याउने बताएका छन्। उनले अबदेखि न्यायाधीश नियुक्ति गर्दा खल्तीबाट नाम झिकेर नगरिने पनि बताए ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नका जवाफ दिँदै मन्त्री कोइरालाले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिकामा सर्वोच्चलगायतबाट राय प्राप्त भइसकेको बताए।

‘अबदेखि न्यायाधीशको नियुक्ति खल्तीबाट नाम झिकेर हुँदैन। त्यसका लागि निर्देशिका बनाइन्छ,’ उनले भने, ‘सर्वोच्च, सर्वोच्च बार, महान्यायाधीवक्ता र कानून मन्त्रालयको राय प्राप्त भइसकेको छ। नेपाल बार एसोसिएसनको राय प्राप्त हुनासाथ निर्देशिका जारी हुन्छ।’

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ ।