केन्द्रीय कमिटीमा १२० जना थप गर्दै माओवादी पुनः बहुपदीय प्रणालीमा फर्कने


खबरस्टोरी संवाददाता
९ पुष २०७८, शुक्रबार
केन्द्रीय कमिटीमा १२० जना थप गर्दै माओवादी पुनः बहुपदीय प्रणालीमा फर्कने

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्किने भएको छ । पुस ११–१३ गते काठमाडौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत माओवादी केन्द्र बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो।

देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेको हो। उक्त समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाएको छ।

माओवादी शान्ति प्रक्रियापछि मोहन वैद्य किरण र बाबुराम भट्टराईको बखतमा बहुपदीय प्रणालीमा गएको थियो। उनीहरु पार्टीबाट बाहिरिएसँगै लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको छ। वैद्य, भट्टराई, सीपी गजुरेललाई उपाध्यक्ष र रामबहादुर थापालाई महासचिवको जिम्मेवारीसहित पहिलो संविधानसभाताका बहुपदीय प्रणालीमा पार्टी सञ्चालन गरिएको थियो।

अब हुने राष्ट्रिय सम्मेलनले पार्टीलाई पुनः बहुपदीय प्रणालीमा लाने भएको हो। पार्टीको हाल कायम रहेको १७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको हो। 

केन्द्रीय समितिमा १२४ सदस्य खुला प्रतिस्पर्धाबाट आउने छन् भने दलित समुदायबाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ। पार्टी कार्यालय पेरिसडाँडामा अहिले बसिरहेको माओवादी स्थायी समिति बैठकले संशोधित विधान पारित गर्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको बताइएको छ।